Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


राजतन्त्र फर्कने हल्ला वाहियात भएको अध्यक्ष राउतको टिप्पणी


0
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताउनुभएको छ ।

मंगलबार बिहान बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्न भएपछि पत्रकारहरुसँग कुरा गर्दै डा. राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी राजनीतिक र आर्थिक अवस्थामा पुग्न उत्पादन बढाउनुपर्ने हुँदा त्यसको आधार बनाउन उत्पादनमुखी सामाजिक लोकतन्त्रको बाटो आफ्नो दलले अपनाएको राउतले बताउनुभयो । उहाँले हामी कहाँ पुँजीवादी क्रान्ति नभएकाले कसरी समाजवादमा पुगिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफ्नो दल उत्पादनमा जोड दिनेगरी ‘सामाजिक लोकतन्त्र’ सुदृढ गर्नुपर्ने निष्कर्षमा रहेको प्रष्ट पार्नुभयो ।

आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले मुख्यतः जनआधारित पार्टी निर्माणमा जोड दिँदै सर्वकालिक कार्यकर्ता उत्पादनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।

डा. राउतले पछिल्ला दिनमा राजतन्त्र फर्कने हल्ला वाहियात भएको टिप्पणी गर्नुभयो । उहाँले विचार र कार्यक्रम मिल्ने अन्य दलसँग पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने र यसका लागि वार्ता गर्न पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको बताउनुभयो ।