Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


शहीद स्मारक ‘बी’ डिभिजन लिगको तयारी पूरा


169
Shares

काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको छ ।

कुल १४ क्लबले प्रतिष्पर्धा गर्ने नेपाली फुटबलको ‘बी’ डिभिजन लिग फागुन २५ देखि हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो ।

कुल ९३ दिनसम्म चल्ने यस लिगको सम्पूर्ण तयारीहरु पूरा भइसकेको एन्फाले जनाएको छ । फिफाको नियमअनुसार ९३ दिनसम्म लिग सञ्चालन हुनुपर्ने प्रावधान छ । तर क्लबहरूले ५० दिनमा नै लिग सकाउने प्रश्ताव गर्दै आएका छन् । यद्यपि त्यो प्रश्तावअनुरूप लिग गर्न नसकिने एन्फाका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए ।

कुल १४ वटा क्लब रानपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसवारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगंज युनाइटेड, झापा फुटबल र प्लानिङ ब्वाइज युनाइटेडले यस संस्करणको ‘बी’ डिभिजन लिगमा प्रतिष्पर्धा गर्दैछन् । यहाँबाट दुई वटा टोली बढुवा र दुई टोली घटुवा हुनेछन् । सबै क्लबलाई १४ लाख ५० हजार तयारी खर्च दिने एन्फाले जनाएको छ ।

सिंगल राउन्ड रोबिनका सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ । कुल ९१ वटा खेलहरूमध्ये केही त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले उल्लेख गरेको छ ।

लिगको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसीले पाइसकेको छ । एन्फाले एक करोड ९२ लाख रूपैयाँमा एमडिएएसी स्पोट्र्सलाई ए, बी र सी डिभिजन तीनै लिगका लागि टिकेटिङ र ब्रोडकास्टिङ अधिकार बेचेको हो । लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय टिकट दर तय गरिएको छ । लिगको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले पाँच लाख रूपैयाँ पाउनेछन् ।

फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले एक लाख रूपैयाँ पाउने एन्फाले जनाएको छ । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ५० हजार रूपैयाँ पाउने भएका छन् । प्लेयर अफ द म्याचले सात हजार पाँच सय पाउनेछन् । हरेक खेलमा जितबापत २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमले १० हजार रुपैयाँ प्रदान गरिने एन्फाले उल्लेख गरेको छ । प्रतियोगिताको कुल बजेट तीन ९३ लाख एक हजार आठ सय ८१३ रहेको र त्यसमध्ये फिफाले अनुमानित दुई करोड अनुदान दिनेछ ।