२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट


0
Shares

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन थालेका छन् ।

भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले किसानको अन्नबाली नोक्सान गर्न थालेका हुन् ।

हात्तीको बथानले गएराति शुक्लाफाँटा नगरपालिका–५ मा डम्मर साउद, कृष्ण रावल, अदप साउद, भीमबहादुर साउद, जीवन साउद, रतन मल्ललगायतका किसानको झन्डै ६ बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ ।

यस्तै, शुक्लाफाँटा नगरपालिकाको २, ३, ४, ५ र १२ तथा बेदकोट नगरपालिकाको १, ९ र १० नम्बर वडामा पनि हात्तीको बथानले धानबाली नष्ट गरेको छ ।

प्रायःजसो अन्नबाली भित्र्याउने बेलामा आतंक मच्चाउँदै आएका हात्तीको बथानले यसपटक भने धानबाली नपाक्दै नोक्सान गर्न थालेका छन् ।

हात्तीले खेतबारीमा लगाएको धान, उखु, तरकारी लगायतका बाली नोक्सान गरेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

हात्ती आतंक वर्सेनि हुने गरे पनि त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा धनजनको क्षति हुने गरेको छ ।

स्थानीयले गतवर्षको राहत तथा क्षतिपूर्तिसमेत नपाएको गुनासो गरेका छन् ।