
काठमाडौं । वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव दिनुभएको छ ।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञ शर्माले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाउनुभएको हो ।
विज्ञ शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौति सामना गर्नुपर्ने स्थिति आउनसक्ने बताउनुभयो । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने समेत उहाँको सुझाव छ । उहाँले डढेलो लगायत प्राकृतिक प्रकोप व्यवस्थापनका लागि प्रदेश तहमा एक करोड बजेट जाने भएपनि त्यो खर्च गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
शर्माले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयगत छुट्टै महाशाखा खोलेर जवाफदेही बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले विपद् हेर्ने एकल अधिकार स्थानीय तहमा रहेका उल्लेख गर्दै स्थानीय तहहरुको क्षमता अभिवृद्धि गरी प्रमुख जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको कारण प्राकृतिक विपद्का घटनाहरु बढिरहेको उल्लेख गर्दै विद्यमान कानूनलाई परिमार्जन गरि समयानुकुल बनाउन जरुरी रहेको समेत बताउनुभयो ।
डढेलो नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्