
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताउनुभएको छ ।
बुधबार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गर्नुभयो । उहाँले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्नेकुरामा जोड दिइरहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताउनुभयो । सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको बताउनुभयो । हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको बताउनुभयो । सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण सांगठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताउनुभयो । राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीहरुमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गर्नुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानहरुले जागिर नभइ सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताउनुभयो । नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्