
काठमाडौं । नागरिकता लगायत अन्य परिचयपत्रलाई पनि विस्थापित गर्ने ठानिएको ‘सेक्युरिटी चिप्स’सहितको राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको दुरुपयोग हुने जोखिम रहेको सांसदहरुले बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासान समितिको बैठकमा सांसदहरुले राष्ट्रिय परिचय पत्र बनाउने कम्पनीमार्फत डाटा लिक हुने जोखिम रहेको बताएका हुन ।
सांसदहरुले नागरिकको व्यक्तिगत विवरण सुरक्षित रुपमा राख्न सरकारले गरेको उपलब्धीबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले तथ्यांकको सुरक्षा गर्न नसकिए नागरिकको जीवनमै खतरामा पर्ने बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको सुरक्षाका लागि अहिलेसम्म के-के प्रवन्ध भए रु भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गर्नुभयो ।
सांसद बडूले डिजिटलको दुनियमा व्यक्तिगत विवरणहरु चोरिका घट्ना बढेको उल्लेख गर्दै यसमा सरकार चनाखो हुनुपर्ने बताउनुभयो । राष्ट्रिय परिचयपत्र लागू गर्दा ज्येष्ठ नागरिक र अशक्त नागरिकहरु समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले सेवा लिनकै लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण दुर्गम भेगका नागरिकले समस्या झेल्नुपरेकोले सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसारको सबैभन्दा ठूलो थ्रेट आफ्नो डाटाको सुरक्षा भएको उल्लेख गर्दै यसमा सरकार चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र छपाईको जिम्मा विदेशी कम्पनीलाई दिए नागरिकको व्यक्तिगत विवरण सुरक्षित नहुने बताउनुभयो । उहाँले नेपालका आइटी कम्पनीहरुले समेत विदेशी कामहरु गरेर राम्रो आम्दानी गरिरहेको उल्लेख गर्दै परिचयपत्र छपाईको जिम्मा नेपाली कम्पनीलाई दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनको सवालमा धेरै व्यवहारिक समस्याहरु रहेको रहेको उल्लेख गर्दै त्यसको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय परिचय पत्र बनाउनकाल लागि आवश्यक पर्ने फर्म समेत झन्झटिलो रहेको उल्लेख गर्दै दूरदाजका नागरिकलाई गाह्रो भइरहेको बताउनुभयो ।
बैठकमा अधिकांश सांसदहरुले राष्ट्रिय परिचय पत्र विवरणमा गति दिन सुझाव दिनुभयो । साथै अमेरिका लगायत विश्वका विकसित देशमा समेत सर्भर ह्याक गरी डाटा चोर्न समस्या रहेको भन्दै यसको सुरक्षामा सरकारले गम्भिर ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्