काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा नेपालमा पहिलो पटक ‘चिनियाँ चलचित्र महोत्सव’ गरिएको छ ।
कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री बर्षमान पुनले नेपालमा पहिलो पटक आयोजना गरिएको चीन चलचित्र दिवसले नेपाल र चीनका चलचित्रमार्फत हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने बताउनुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रमा अर्को संभावनाको ढोका खोल्ने उल्लेख गर्नुभयो ।
त्यस्तै आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध ठूलो कुराको लागि एउटा सुरुवाती प्रवेशद्धार रहेको उल्लेख गर्नुभयो ।
चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताउनुभयो ।
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका वर्षहरुमा चीन चलचित्रहरुका लागि विश्वको ठूलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाँकन भएको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने संझौता भएको थियो । यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक सम्बन्ध ६० वर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो । दुई देशबीच उत्सव श्रृंखलाको रुपमा यस चीन चलचित्र दिवस कार्यक्रमले दुई देशका चलचित्र निर्माता बीचको सहयोग आदान प्रदान का लागि प्लेटफर्म प्रदान गर्नेछ’ ।
चलचित्र दिवसमा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित चलचित्र ‘जी फर ग्याप’की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जित्नुभएकी यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत को टोली कार्यक्रममा सरिक हुनुभएको थियो ।
क्यूएफएक्स सिनेमाको छाँया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्महरु, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्