काठमाडौं । मोरङ जिल्ला अदालतले सहकारी ठगीको आरोप लागेकी संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यही पुस २ गते पक्राउ पूर्जी जारी भएपछि फरार रहँदै आएकी अञ्जला आज मोरङ जिल्ला अदालमा उपस्थित भएकोमा धरौटीमा रिहा गर्न आदेश भएको हो ।
जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले १० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभएको छ । मोरङको धनपालथान गाउँपालिका ४ स्थित उमागौरी सहकारीको २२ करोड हिनामिनको आरोप लागेकी अञ्जलालाई अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो ।
सो सहकारी ठगी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध बचतकर्ताको २२ करोड २८ लाख २७ हजार ७ सय रुपैयाँ खाने पचाउने नियतले हिनामिना गरेको अभियोग लागेको छ । अन्जला आज अदालतमा उपस्थित भएपछि उनको तर्फबाट ९ जना वरिष्ठ अधिवक्तासहित ११ जना वकिलहरुले बहस गरेका थिए । सोही मुद्दामा एक जना धरौटीमा रिहा भइसकेका छन् भने अन्य २४ जना फरार छन् ।
प्रतिक्रिया दिनुहोस्