सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ शुरु गरेको छ । यस वर्षको पहिलो वर्षा तथा हिमपात शुरु भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा मंगलबारदेखि सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ शुरु गरेको हो ।
वर्षा सहितको हिमपात भएपछि सडकमा हिउँ तथा पानी जमेर चिप्लो र हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यात्रा सुरक्षित होस् भनेर सवारी चालकहरुसँग यो कार्यक्रम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा सवारी साधन भित्रिने र बाहिरिने मुख्य नाका पत्तालेलगायतका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि सबै चालकहरुलाई रोकेर सम्भावित खतरा र सुरक्षित यात्राका बारेमा दुई मिनेट सचेत गराउने कार्य शुरु गरिएको घिमिरेले बताउनुभयो ।
त्यस क्षेत्रका विभिन्न सडकखण्डमा लामो समयसम्म हिउँ रहने र पानी जमेर बरफ बन्ने गर्दछ । यसअघिका वर्षहरुमा चिप्लिएर दुर्घटना हुनेगरेकाले केरुङको पत्ताले र अस्थायी प्रहरी चौकी रमितेबाट सवारी चालकहरूसँग सचेतना कार्यक्रम शुरु गरिएको घिमिरेले बताउनुभयो ।
सल्लेरीबाट राजधानीलगायत लामो दुरीका लागि जाने सवारी साधन बिहान अँध्यारैमा छुट्ने हुँदा बरफमा चिप्लिएर दुर्घटनाको जोखिम बढी हुने भएकाले सजग हुुनुपर्ने यात्रुहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्