६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव ज्ञवाली


468
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गर्नुभयो ।

मुलुकमा यावत समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताउनुभयो । संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने ज्ञवालीको भनाइ छ ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ । हामी समाधान कहाँ खोजिरहेका छाँै भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबैकुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरुको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरु पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ ।’

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुको संगति भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुभयो । संविधान आफँमा गतिशील दस्ताबेज भएको बताउनुभयो । संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताउनुभयो । —न्युज एजेन्सी नेपाल