६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


चीनमा नयाँ भाइरसको संक्रमण फैलियो


78
Shares

एजेन्सी । कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसजस्तै लक्षण रहेको यो संक्रमणका कारण सयौं बिरामी परेका छन् । ह्युमन मेटान्युमो नामाकरण गरिएको यो भाइरस नयाँ आरएनए भाइरस हो ।

यो भाइरसको असर सबैभन्दा बढी साना बालबालिकामा देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण देखिएका छन् ।

बिरामीको संख्या लगातार बढिरहेकोले यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सको सल्लाह लिन सुझाव दिइएको छ । खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुने र भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्ने चेतावनी दिइएको छ ।

चीन सरकारले भने यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ । सन् २००१ मा पहिलो पटक फेला परेको योे भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना बढी रहने चिनिया चिकित्सकहरुले जनाएका छन् ।