काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरुको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष रेग्मीले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणालीको ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले सचिवको हकमा एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीतन्त्रलाई स्थायित्व दिनको र सुशासन कायम गर्न कर्मचारीको आवधिक प्रणालीले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न नहुने उहाँको धारणा छ । अध्यक्ष रेग्मीले एकैपटक ६० वर्षको उमेरहद लागू गर्दा बढुवाको नजिक रहेका कर्मचारीहरुमा प्रतिकुल असर पर्ने र विश्वविद्यालयबाट नयाँ प्रवेश आकांक्षा राखेका उम्मेदवारहरुलाई समेत प्रतिकुल असर पर्ने भएकाले त्यसो गर्न नहुने बताउनुभयो । उहाँले लोकसेवाबाट लिइने परीक्षालाई पनि नियमित बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले प्रविधिको तिब्र रुपमा विकास भइरहेको उल्लेख गर्दै अब एउटा परिक्षा दिनकै लागि युवाहरुसँग पर्खिने समय नरहेको टिप्पण्णी गर्नुभयो ।
समितिले बैठकमा आज संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि लोकसेवा आयोगसँग छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्