काठमाडौं । जलवायु परिवर्तनको असरले मुलुकको अवस्था पीडादायी भएको भन्दै सांसदहरुले जलवायु कार्यको लागि सरकार नै लाग्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् ।
जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्रप्रसाद महतोले आफ्नो देशको समस्या समाधान गर्न नसके कोपमा सहभागि हुनुको औचित्य नहुने बताउनुभयो । उहाँले कोपमा सहभागी भएर नेपालले भोग्दै आएका समस्याहरु समाधान हुनुको सट्टा एनजीओ र आइएनजीओहरुको प्रमोसन भइरहेको टिप्पणी गर्नुभयो । उहाँले जलवायु कार्य गर्नको लागि नेपालभन्दा कम काम गरेका राष्ट्रहरुले संयौं मिलियन ग्राण्ड पाउँदा नेपालले किन नपाएको रु भन्दै प्रश्न गर्नुभयो ।
जलवायु कार्यका लागि सबै प्रकारका ग्राण्डहरुको सम्झौता अर्थ मन्त्रालयसँग हुने भएको र वन मन्त्रालयले खर्च गर्न नसकेको सांसद महतोको भनाइ छ । उहाँले अर्थ मन्त्रालय र वन मन्त्रालयबीच समन्वयको अभावका कारण कोषमा भएको रकम खर्च गर्न नसकिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सांसद महतोले मुलुकको हित हुने काममा पैसा खर्च गर्न अर्थ मन्त्रालयका सचिवले सही नगर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले कोषमा भएको बजेट खर्च गर्नको लागि कानून परिमार्जन गर्नुपर्नेमा उहाँको जोड छ । कोषमा भएको अर्बौं रुपैयाले धेरै काम गर्न सकिने उल्लेख गर्दै उहाँले अरुसँग माग्नुभन्दा कोषमा उपलब्ध रकम खर्च गर्नतिर जानुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले जलवायु कार्य र वन जंगलको संरक्षण वन मन्त्रालयको उपस्थिति कमजोर रहेको बताउनुभयो । उहाँले वन मन्त्रालय गम्भिर नुहँदा सामुदायिक जंगलहरुको अवस्था बेहाल बन्दै गएको बताउनुभयो ।
सांसद जोशीले जलवायु परिवर्तनको असरले गाउँका वस्तिहरु उजाड भइसकेको उल्लेख गर्दै जलवायु कार्य गर्नमा ढिला गर्न नहुने बताउनुभयो । उहाँले जलवाययु कार्य गर्नको लागि आवश्यक बजेटको प्रवन्ध गर्न जरुरी रहेको बताउनुभयो ।
समिति सभापति कुसमादेवी थापाले कोपमा सहभागि हुने मात्र नभई त्यहाँ राख्ने कुराहरुले महत्व राख्ने बताउनुभयो । अगामी दिनमा जलवायु सम्मेलनमा सहभागि हुँदा आवश्यक तयारीका साथ सहभागि हुनुपर्ने उहाँको धारणा छ ।
बैठकमा उपस्थित अधिकांश सांसदहरुले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि राज्य संयन्त्र सक्रिय हुन जरुरी रहेको धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्