काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।
अध्यक्ष भट्टराईले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष भट्टराईले साधन र स्रोतको सिमितता सबैमा ठाउँमा भएपनि त्यो सिमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताउनुभयो । उहाँले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरु बुझनका लागि सहि राजनीति नै आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताउनुभयो । उहाँले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
सांसद खनालले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताउनुभयो । उहाँले शिक्षामा सबैको पहुँच पु¥याउन सरकारले निजी शैक्षिक संस्थाहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्