काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेको हो ।
समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनुभयो । उहाँले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताउनुभयो ।
उहाँले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पु¥याउन सांसदहरुलाई आग्रह गरिएको बताउनुभयो । सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पु¥याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।
गत बिहीबार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्