काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष कुवँरले यस्तो बताउनुभएको हो ।
अध्यक्ष कुवँरले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताउनुभएको हो । उहाँले श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गर्नुभएको हो ।
अध्यक्ष कुवँरले संविधान बमोजिम श्रम बजरको लागि नीतिगत र कानूनी संरचनाहरु तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको बताउनुभयो । उहाँले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको बताउनुभयो । उहाँले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।
अध्यक्ष कुवँरले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्