७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


संसद्‌मा विचाराधिन विधेयकहरुका विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय


429
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरु समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

बिहीबार सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधिन विधेयकलाई आगामी अधिवेशनमा पास गराउने गरी काम गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै समिति संयोजक जीवन परियारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरुमा रहेका विधेयकहरु पारित गर्न आवश्यक छलफलका लागि संघीय संसदमा रहेका दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्ने निर्णय गरिएको बताउनुभयो ।

संयोजक परियारले अन्य दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने अधिकार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले आगामी १७ गतेभित्र संघीय संसदका विभिन्न समितिमा रहेका विधेयकहरु बारे दलगत समितिका सदस्यहरुसँग आवश्यक छलफल गर्ने निर्णय गरेको पनि बताउनभयो ।

उहाँले दुई दलिय संयन्त्रले दिएको निर्देशन अनुसार समितिमारहेका विधेयकहरु समय सीमाभित्रै पारित गर्नेगरी दुवै सदनको नियमावली र कार्यविधिमा संसोधन गर्नेबारे पनि अन्य दलका प्रमुख सचेतकहरुसँग पनि छलफल गर्ने निर्णय भएको बताउनुभयो । कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमाले सांसद योगेश भट्टराई, काँग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सहभागि हुनुहुन्थ्यो । कार्यदलको अर्को बैठक आगामी पुस १८ गते बस्ने भएको छ ।