७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक : जनार्दन शर्मा


442
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या, कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको बताउनुभएको हो ।

उपमहासचिव शर्माले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चश्व े कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव शर्माले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गर्नुभयो । उहाँले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गर्नुभयो ।

उपमहासचिव शर्माले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताउनुभयो ।