सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट पीडित महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।
भारतको दिल्लीमा उपचारपछि घर फर्किएका महतोको स्वास्थ्य पुनः बिग्रिएपछि एक महिनाअघि भरतपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो ।
महतो नेपाली कांग्रेसको तर्फबाट लगातार दुई कार्यकाल (२०७२ र २०७९) मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष पनि रहेका थिए ।
नेपाली कांग्रेसका स्थानीय नेता गजेन्द्र साहका अनुसार महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्न गाउँलेहरू जुटेका छन् ।
वडाध्यक्ष महतोको निधनप्रति शोक प्रकट गर्दै बसबरिया गाउँपालिकाले बिहीबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
बसबरिया गाउँपालिका अध्यक्ष राम सिंहासन रायले गाउँपालिकाका सबै कार्यालय, विद्यालय, र स्वास्थ्य संस्था बन्द गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्