काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ ।
बुधबार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताउनुभयो । उहाँले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालमा कम्युनिष्ट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्