एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा इरान समर्थित हुथी विद्रोहीका अखडाहरुमा व्यापक आक्रमण गरेको छ । विद्रोहीद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधालाई लक्षित गरी अमेरिकाले शृंखलावद्ध हवाई आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले लाल सागरमा हुथी समुहका ड्रोन तथा क्रुज मिसाइल पनि नष्ट गरेको छ । हुथीहरूले इजरायलको तेल अभिभ पार्कमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको केही घण्टा पछि अमेरिकाले हवाई हमला गरेको हो ।
उत्तर–पश्चिमी यमनलाई नियन्त्रण गर्ने इरान समर्थित विद्रोही समूह हुथीहरूले अक्टोबर २०२३ मा गाजा युद्ध शुरु भएको केही समयपछि इजरायल र अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्न थालेका थिए । उनीहरुले आफ्नो प्रभाव क्षेत्रमा यात्रा गर्ने पानीजहाजहरुलाई निशाना बनाउने गरेका थिए ।
नोभेम्बर २०२३ यता हुथी मिसाइल आक्रमणले लाल सागरमा दुईवटा जहाज डुबाएको छ भने थुप्रैमा क्षति पुगेको छ । हुथी समुहले गाजामा इजरायली युद्ध समाप्त नभएसम्म अमेरिका तथा इजरायली निशानामा आक्रमण जारी राख्ने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्