२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


मदरसमा अध्ययनरत २७ विद्यार्थी पढ्नबाट बञ्चित


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु असोज १ । कपिलवस्तुको एक मदरसामा अध्ययनरत २७ विद्यार्थीलाई स्कुल प्रवेशमा रोक लगाएपछि उनीहरु थप शिक्षा पाउनबाट बञ्चित भएका छन् ।

मदरसा सञ्चालकले मदरसा प्रवेशमा रोक लगाएपछि मायादेवी गाउँपालिका–६ डुमरामा रहेको जामिया मतउनल वलुम असरुलफिया तोहरत गर्ल्स कलेजमा अध्ययनरत २७ जना विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।

गर्ल्स कलेजमा अध्ययन गर्ने २७ जना विद्यार्थीलाई गत भदौ २६ गतेदेखि मदरसा प्रवेशमा निषेध गरिएको तथ्य जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएपछि  सार्वजनिक भएको हो ।

गत भदौ २५ गते राति सञ्चालक अब्दुल रहीत मदिनीका २ छोरा, उनका भतिजाको स्थानीय गाउँलेसँग सामान्य विषयमा झैझगडा भएको थियो । त्यही निहुँमा डुमराका आधा दर्जन परिवारका २७ विद्यार्थीलाई सञ्चालकले मदरसा कलेजमा पढ्नबाट बञ्चित गराएका हुन् ।

मदरसाका मुख्य सञ्चालक अब्दुल रहीम मदिनीले आफुहरुलाई मदरसा प्रवेशमा रोक लगाएको कक्षा १० मा अध्ययरत विद्यार्थी हलीम तरुन्नुले बताइन् ।

भदौ २६ गते मदरसामा पढ्न जाँदा प्रिन्सिपलसहित शिक्षक शिक्षिकाले कक्षामा प्रवेश गर्न रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा पीडित छात्राले उजुरी पत्र बुझाएका थिए ।

कक्षा ९ मा अध्ययनरत हलिमा खातुनले प्रिन्सिपल सलमा खातुन, शिक्षिका शोयबा खातुन, बसमा खातुन, अब्दुल रहीमले आफुहरुलाई मदरसामा पढ्नबाट बञ्चित गरेको आरोप लगाइन् ।

भदौ २५ गते सञ्चालक रहिमका दुई छोरा र भतिजाहरु स्थानीय तालिमुन निसाको घरमा छिरेपछि विवाद भएको थियो । सो घटनामा सञ्चालकका छोराहरुले कुटाई समेत खाएका थिए । त्यही कारणले गाउँलेका छोराछोरीलाई सञ्चालकले मदरसा प्रवेशमा रोक लगाएको स्थानीयले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले मदरसामा कुनै पनि बहानामा विद्यार्थीहरुलाई पढ्नमा रोक लगाउनु गलत भएको बताए । उनले यस बिषयमा बुझेर विद्यार्थीलाई पढ्ने वातावरण मिलाईने बताए ।

झैझगडापछि दुबै पक्षले एक अर्काबिरुद्ध प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका छन् । सो विषयमा छलफलपछि मिलापत्र समेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।