६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


पोखरामाथि सुदूरको रोमाञ्चक जित


806
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हातपार्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायर सम्भावना बलियो बनाएको छ ।

आज भएको खेलमा सुदूरले पोखरालाई अन्तिम ओभरको २ बल बाँकी रहँदा पाँच रनले हराउँदै शीर्षमा उक्लिएको हो । सुदूरले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनमा समेटिएको हो ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ५३ रनको योगफल बनाएको थियो । जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्षमा उक्लिएको छ । सुदूरले लिग चरणको अन्तिम खेल मंगलबार कर्णाली याक्ससँग खेल्ने छ । पोखराले भने सात खेलबाट ६ अंकसहित प्रतियोगिता टुंग्याएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा रहँदा चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान आठ अंक छ ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हातपार्दै प्लेअफ सम्भावना जीवित बनाएको छ । काठमाडौंले विराटनगरलाई १ विकेटले हराएको हो । १ सय १८ रनको लक्ष्य पच्छ्याएको काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १७ रन बनाएको थियो । सोमवार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउनेछ । लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।