काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताउनुभएको हो ।
सांसद सिंहले वर्षमा दुई महिना शनिबार मात्र पर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहहरुले आ-आफ्नै ढंगले विदा दिने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले कर्मचारीको लागि कार्यालय समयमा खाजा खानको लागि निश्चित समय छुट्याउनुपर्ने बताउनुभयो । खाजा खाने बहानामा कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको समेत उहाँले बताउनुभयो । उहाँले कर्मचारीले ओहोदाअनुसारको परिचय पत्र अनिवार्य रुपमा लगाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संघीय निजामति ऐन ल्याउँदा सांसदको व्यक्तिगत स्वार्थभन्दा राज्य र जनतालाई न्याय दिनेगरी ऐन ल्याउनुपर्ने बताउनुभयो । उहाँले राज्यलाई कुनैपनि प्रकारको हानी नहुने र जनताले सहज ढंगले सेवा लिने वातावरण बन्नेगरी ऐन ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजामति विधेयकको माथिको छलफल प्रभावकारी नभइरहेको गुनासो गर्नुभयो । उहाँले संशोधनकर्ता सांसदहरुलाई गृहकार्यको लागि समय दिनुपर्ने बताउनुभयो । उहाँले बैठकमा सहभागि हुनको लागि कम्तिमा पनि एकदिन पहिले जानकारी दिए आवश्यक गृहकार्य गर्नसक्ने बताउनुभयो ।
बैठकमा मंगलवारदेखि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्