काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आज बिहान ११ बजे चीन जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो ।
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँका साथमा उहाँकी श्रीमती राधिका शाक्य जानुहुनेछ ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंगलबार बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ भने सोही दिन चिनियाँ समकक्षी ली छियाङसँग प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले द्विपक्षीय भेटवार्ता गर्नेछ ।
चीनको राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष चाओ लचीले प्रधानमन्त्री ओलीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुनेछ ।
यस्तै बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी हनुहुनेछ ।
प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्