१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


विपिन जोशीकी बहिनी भन्छिन् – तिहारमा दाइका लागि उनिएको मखमलीको माला राखेको छु, एयरपोर्टमा त्यही माला लगाइदिन्छु

हमास आक्रमणमा परेका विपिन जोशी चौध महिनादेखि बेखवर

13.299k
Shares

काठमाडौं । चौध महिनादेखि कञ्चनपुरको एउटा परिवार पुरै पीडामा तड्पिइरहेका छन् । इजरायल गएका कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन्, उनको स्थितिबारे मुलुक नै बेखवर छ ।

जोशी ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्र्तगत इजरायल गएका थिए । २०२३ अक्टोबर ७ (२०८० असोज २०) मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्‍यो । हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । आक्रमणमा परी ४ जना घाइते भए भने विपिन जोशी अवस्था अझै अज्ञात छ ।

विपिन जोशी

विपिनकी बहिनी पुष्पा जोशी भक्कानिँदै भन्नुहुन्छ, ‘मेरो दाइलाई तिहारको टीका लगाउन नपाएको दुई वर्ष भयो । यो वर्ष दाइ घर फर्कनुहुन्छ भनी मैले तिहारमा माला लगाउन मखमली र सयपत्री फूलका बिरुवा रोपे । ती फूलका बिरुवा हुर्कर्दै गए, तिहार पनि आयो, गयो । तर मेरो दाइ आउनुभएन ।’

बहिनी पुष्पा भन्नुहुन्छ, ‘तिहारमा मैले मेरो दाइ विपिनको लामो आयुको कामना गर्दै कहिले पनि नओइलाउने मखमली फूलको माला गाँसेर राखेको छु । दाइ नेपाल आएको दिन एयरपोर्टमा त्यही माला लगाइदिन्छु । पुष्पाले त्यो माला सुरक्षित पूजा कोठामा राख्नुभएको छ ।’ एयरपोर्टमा दाइ आउने दिनको पर्खाइमा हुनुहुन्छ, विपिनकी बहिनी ।

मखमली फूलको माला

विपिनकी आमा पद्मा जोशीलाई छोराका बारेमा सोध्दा बोल्नै गाह्रो भयो । आवाज भन्दा रुवाई धेरै थियो । अड्किँदै अड्किँदै बोल्नुभयो । कति कुरा त बुझिँदैनथ्यो । उहाँले छोरालाई छिटो ल्याइदिन सरकारसँग आग्रह गर्नुभयो ।

विपिनकी आमा भन्नुहुन्छ, ‘मेरो छोरा कस्तो अवस्थामा होला ? खान पाएको छ कि छैन ? सँधै खाना खाँदा गास अड्किन्छ । त्यो घटना सुनेपछि मेरो होस् पनि छैन, खाना खानुपर्छ भन्ने पनि थाहा हुँदैन । कति पटक उल्टो कपडा लगाउने रहेछु गाउँलेले भनेपछि थाहा पाउछु । छोराको सम्झनामा कति रात सुतेको छैन ।’

विपिनकी आमा पद्मा जोशी

उहाँ भन्नुहुन्छ, ‘हमासले निर्दोष मेरो छोरालाई किन छाडेन । अरु छाड्दा मेरो छोरो किन छुटेन रु जसरी भएपनि छोरालाई छुटाइदिन सबै देशलाई आग्रह गर्छु ।’

विपिनका बुवा आनन्द जोशी भन्नुहुन्छ, ‘मेरो छोरा अज्ञात भएको आज १३ महिना भयो । नेता, मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीलाई पटक–पटक भेट्यौँ, तर आश्वासनबाहेक केही पनि आएन । नेपालभन्दा बाहिर हाम्रो पहुँच छैन । सरकारलाई नै हार गुहार गर्नुबाहेक केही उपाय छैन ।’

विपिनका बुवा, आमा र विपिन

बैतडीको पुर्चौडीका आमा पद्मा र बुबा आनन्द जोशीका जेठो सन्तान हुन्, विपिन जोशी । उनी २०५७ साल पुस २२ गते जन्मेका थिए । शिक्षण पेसामा संलग्न आनन्द जोशी छोरा ९ वर्षको हुँदा बैतडीबाट कञ्चनपुर झर्नुभयो । हाल महेन्द्रनगर बजारबाट करिब ४ किलोमिटरमा रहेको माथिल्लो भेग कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–३ मालिकार्जुनमा बस्दै आउनुभएको छ ।

विपिनका दाइ (ठूलो बुवाको छोरा) किशोर जोशी भन्नुहुन्छ, ‘भाइको केही खबर आएको छैन । गुहार गर्दागर्दै थाकियो । तिहारअघि परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि भेट्यौ । उहाँले पनि विपिन खोजमा हामी सबै लागेका छौं भन्नुभयो । तर कतैबाट केही खबर छैन ।’

विपिन सानैदेखि भद्र र शालीन स्वभावका थिए । शान्त स्वभावसँगै हँसिलो अनुहारका विपिन कम बोल्ने र आफूभन्दा ठूलो मानिसका कुरा सुन्ने बानी थियो । सानोमा साथीसँग सधैँ मिलेर खेल्ने र सबैले मन पराउँथे ।

सानो हुँदा सधैँ आमा–बुबासँग भन्ने गर्थे, ‘भविष्यमा म ठूलो मान्छे बन्छु, मलाई सबैले चिन्नेछन् । मैले नाम राख्ने छु ।’ कुनै दिन विपिन जोशीको बुबा–आमा भनी चिनिनु हुनेछ भनी छोराले भनेको कुरा सम्झदै आमा भक्कानिनु हुन्छ ।

श्री शान्ति निकेतन माध्यामिक विद्यालय एठनपुरबाट २०७० सालमा प्रथम श्रेएणीबाट एसएलसी पास गरे । लिटिल बुद्ध कलेजबाट प्रथम श्रेएणीमै १२ कक्षा पास गरेका थिए ।

कृषि क्षेत्रमा केही गर्छु भन्ने विपिनको इच्छा थियो । सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरमा विएस्सी एग्रीकल्चर विषयमा प्रवेश परीक्षा दिए, नाम पनि निकाले र भर्ना भए । उनको पढाई राम्रो हुँदै गएको थियो । ८ औँ सेमेस्टर अन्तिम अन्तिम हुन लागेको थियो । त्यहीबेला इजरायलमा पढाईसँगै काम गर्न पाउने कार्यक्रम आएको थियो । ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्र्तगत इजरायल जान पाउने मौका आयो । त्यस निम्ति परीक्षा भयो, उक्त परीक्षामा विपिनलगायतका ४९ जना विद्यार्थीहरू नाम निकाल्न सफल भए ।

विपिन इजरायल जान पाएको सुन्दा आमा पद्मा त्यति खुसी हुनुभएन । परदेशमा दुःख पो हुने हो कि भन्ने आमालाई पीर थियो । विपिनले आमालाई सम्झाए कृषिका लागि इजरायल राम्रो देश हो । छोराको इच्छा भएकाले घर–परिवारमा पनि विपिनको इच्छाअनुसार इजरायल पठाउने सहमति भयो । तर, परिवारको इच्छा भने इजरायलभन्दा क्यानडा पठाउने थियो ।

२०८० सालको भदौ २६ गते विपिनसहित ४९ जना विद्यार्थीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो जहाजमा ठूलै सपना बोक्दै इजरायल उडे । उनीहरू ११ महिनाका लागि इजरायल गएका थिए । इजरायल पुगेको २१ दिनमा (असोज २० गते) २०२३ अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण भयो ।

त्यो आक्रमणमा नेपाली विद्यार्थीहरू पनि परे । ४९ जना विद्यार्थीमध्ये १७ जना विद्यार्थी हमासको आक्रमणमा परे । १० जनाको विदेशी मुलुक इजरायलमा हमासको आक्रमणमा परी ज्यान गयो । ४ जना घाइते भने एक जना विपिन जोशीको अवस्था अज्ञात छ ।

धनबहादुर चौधरी स्मरणमा घटना र विपिन

कैलाली टिकापुरका धनबहादुर चौधरी विपिनसँगै इजरायल पुग्नु भएको थियो । इजराइल पुगेको २१ दिनमा हमास आक्रमणको अनुभव बोकेर फर्किनुभएको छ । मिसाइलहरू आकाशमा गइरहेका थिए । बाहिर बन्दुक चलिरहेको थियो । ठूलो आवाज आइरहेको थियो । धनबहादुरसहित १७ जना नेपाली विद्यार्थी बसेको होस्टेल नजिकै बंकर थियो । त्यही बंकरमा बच्न धनबहादर, विपिन जोशीसहित १७ जना लुके । २ घण्टापछि बाहिर बन्दुकहरू चल्न थाल्यो ।

बंकरभित्र बसेका १७ जना नेपाली विद्यार्थीहरू आत्तिए र कराउन थाले । नेपाली भनेपछि बचाउँछ कि भन्ने आशाले बंकरबाहिर दुई जना विद्यार्थी निस्केका थिए । हामी नेपाली भन्दैथिए । त्यही बेला हमासले ती दुई जना विद्यार्थीमाथि गोली हान्यो । ती दुई जना साथीको मृत्यु भएको धनबहादुर बताउनुहुन्छ ।

त्यसपछि त्यो बंकरभित्र हमासले दुई वटा ग्रिनेड (बम) फाले । एउटा ग्रिनेड विपिन जोशीले उठाएर फाले । अर्का ग्रिनेड भने बंकरभित्र नै पड्कियो । बम बंकरमा पड्केछि धनबहादुरसहित अरु साथी भित्रै थिए । बम पड्केपछि दुई मिनेटसम्म सबैका आँखा र कान बन्द भए । धुलोले केही पनि देखिएन सबै अन्धकार भयो ।

आँखा खुल्दा त रगताम्य थियो । साथीहरू छड्पटाइरहेका थिए । कसैका हात, कसैका खुट्टा थिएनन् । घाइते भएका धनबहादुर र अर्का एक जना नेपालीलाई बंकरबाट इजराइली पुलिसले पछि अस्पतालमा लगेका थिए । धनबहादुरका अनुसार, मेरो पनि खुट्टा चलेको थिएन । त्यसपछि सबैतिर फोन गर्न थाल्यौं । केही समयपछि इजरायली दुई जना पुलिस आए । १० जना सुरक्षित भएका विद्यार्थीहरूलाई अर्का ठाउँमा सुरक्षित राख्न लग्यो । १७ जनामध्ये दुई जनाको गोली लागेर मृत्यु भइसकेको थियो भने ५ जना घाइतेलाई बंकरभित्रै भिए । तीन गम्भीर घाइतेको त्यही बंकरमा मृत्यु भयो ।

अस्पतालमा पुग्दा धनबहादुलाई थाहा भयो कि अर्को बंकरमा सुरक्षित राख्न लगेका ती १० जना साथीहरूलाई पनि आक्रमण भएको रहेछ । ५ जना साथीलाई हमासले गोली हानी मारेछ र विपिन जोशीलाई हमासले लग्यो भन्ने धनबहादुरले अर्का बंकरबाट अस्पतालमा आएका अरु दुई घाइते साथीबाट थाहा पाउनुभयो ।

धनबहादुरसहित ४ जना घाइते भए । दुई वटा बंकरबाट ५–५ जना गरी १० जना विद्यार्थीको ज्यान गयो । विपिन जोशीलाई हमासले लग्यो । अझै ३ जना नेपालीले इजरायलमा उपचार गराइरहेका छन् भने विपिन जोशी सम्पर्कविहीन अवस्थामा छन् ।

बमको छर्रा धनबहादुरको खुटटमा लागेको थियो । उहाँ अलि निको भएपछि नेपाल फर्कनुभएको छ र उहाँको स्वास्थ्य अवस्था रामो छ । घाइते अवस्थाका धनबहादुर मात्र नेपाल फर्कनुभएको हो । बाँकी उपचार उहाँले वीर अस्पतालमा गर्नुभयो । उहाँ र्कीर्तिपुरमा एमएससी गर्दै हुनुहुन्छ ।

धनबहादुर र विपिन टिकापुरदेखिका साथी हुन् । इजरायलमा पनि सँगै बस्थे । विपिन मिलनसार र संगीतमा धेरै नै झुकाव भएको धनबहादुर बताउनुहुन्छ । आक्रमण हुनुभन्दा दुई दिन पहिले फुटबल ग्राउण्डमा विपिन र धनबहादुरले आफ्नो भविष्यकाबारे योजना पनि बनाएका थिए । नेपाल आएर एमएसी गर्ने र लोकसेवाको तयारी गर्ने दुबैको योजना थियो ।

इजरायलमा काम गरेको पहिलो तलब आएपछि नयाँ गितार किन्ने विपिनको योजना भएको धनबहादुर सुनाउनुहुन्छ । खाली समयमा विपिनको काम गीत गाउँथे । संगीतमा विपिनको झुकाव थियो ।

बंकरभित्रै बम

सल्यानका प्रमोद केसी विपिनका मिल्ने अर्का साथी हुनुहुन्छ । टिकापुरमासँगै ४ वर्ष पढे, त्यसपछि इजराइल पनि सँगै गए । इजरायलमा १७ जनासँगै बसेका थिए । बोर्डर साइडतिर उनीहरूको बसाई थियो । त्यसैले ती १७ जना आक्रमणमा परेका थिए । किबुर्ज आलोकिन भन्ने ठाउँमा थियो, १७ जनाको बसाई । विपिन जोशी र प्रमोदको एउटै घरको फरक कोठामा बसाई थियो ।

शनिबार बिहान ६ बजेबाट मिसाइल आउन थाले । मिसाइहरू खस्न थाले । उनीहरू बस्ने होस्टेलसँगै बंकर थियो, त्यही बंकरमा लुकेका थिए । दुई घण्टाको बंकर बसाईंपछि झन् डर बढ्न थाल्यो । दुई जनालाई गोली लाग्यो र मृत्यु भयो । त्यसपछि बंकरमा १५ जना जिवित रहे । मृत्यु भएका दुई साथीलाई घिसारेर बंकरभित्र लगेको प्रमोद बताउनुहुन्छ ।

त्यसपछि आतंककारीले बंकरभित्र ग्रिनेड फाले, पड्कियो । कान बन्द भयो । र को जीवित छ, कसको मृत्यु भयो केही पनि थाहा नभएको प्रमोद बताउनुहुन्छ । बम पड्किएपछि धुलैधुलो भयो, त्यो धुलो केही समयछि हट्दा साथीहरू छड्पटाइरहेका थिए । कसैका खुट्टा थिएन । रतग बगिरहेको थियो । ५ जना गम्भीर घाइते भए ।

फेरि अर्को ग्रिनेड आयो, बंकरभित्र आयो । विपिन जोशी ढोकाको छेउमा थिए । विपिनले ग्रिनेडलाई ढोका बाहिर फालिदिए । ढोका बाहिर पड्कियो । क्षति भएन । मेडिकल पुलिसले घाइतेलाई अस्पताल लग्न नपाउँदै गम्भीर घाइतेमध्ये ३ जनाको बंकरभित्र मृत्यु भयो । पहिलो बंकारमा गोली लागेर २ र बमबाट ३ गरी ५ जनाको मृत्यु भयो ।

१० जनालाई अर्को बंकरमा सुरक्षित राख्न लगे । त्यो २० मिटरको दूरीमा बंकरमा थियो । त्यहाँ खाना पकाउन मिल्ने बंकर थियो ।

दोस्रो बंकरमा १० जना नेपाली थिए । ५ जना नेपालीलाई हमासले गोली हानेर मारेको थियो । २ जना गम्भीर घाइते भए । बेसिनमुनि लुकेर प्रमोद बाँच्न सफल भए । विपिन जोशी बंकरको ढोकामा बसेका थिए । उनलाई आतंककारीले समातेर लगेको प्रमोद बताउनुहुन्छ ।

खोजीमा दूतावासको सक्रियता

त्यो घटना हुँदा इजरायलमा नेपाली राजदूत हुनुहुन्थ्यो, कान्ता रिजाल । उहाँ घटना थाहा पाउने बित्तिकै त्यहाँ भएका सबै अस्पताहरूमा विपिन जोशीको हुलिया पठाएको र कुनै पनि अस्पतालमा नभेटिएको जानकारी पाएको बताउनुहुन्छ । उहाँका अनुसार, त्यसपछि विपिनलाई हमासले नै लगेको हो कि भन्ने भयो तर यकिन त हुनुपर्यो । त्यहाँ भएका शवहरू पहिचान गर्न परिवारबाट डिएनए नेपालबाट मगाइयो तर कसैसँग पनि मिलेन ।

कतै पनि नभेटिएपछि पक्कै पनि हमासले लगेको हुनुपर्छ भन्ने भएको तत्कालीन इजरायलकी राजदूत रिजाल बताउनुहुन्छ । केही दिनपछि आक्रमण भएकै दिनको विपिनको भिडियो देखियो, त्यसपछि गाजा क्षेत्रमा लगेछ भन्ने भयो ।

इजरायलका राष्ट्रपतिसँग तत्कालीन राजदूत रिजालले तीन पटक भेट्नुभयो । त्यो दौरानमा तत्कालीन राजदूत रिजालले धेरैलाई भेट्नुभयो । प्रधानमन्त्री व्यस्त भएकाले उहाँको सुरक्षा निकायसँग विपिनको विषयमा कुरा राखेको जानकारी रिजालले दिनुभयो । उहाँका अनुसार, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)को प्रमुखसँग विपिनको अवस्थाबारे बुझ्न भेटे । तर खासै जानकारी पाउन सकिएन ।

विपिन जोशी अरु बन्धकभन्दा फरक हो उसले ग्रिनेड फालेर अरुको ज्यान जोगायो । त्यसैले विपिन जोशी हिरो हो भनी सबैलाई विपिनको परिचय त्यसरी गराएको तत्कालीन राजदूत रिजाल बताउनुहुन्छ । इजरायलको सबै ठाउँमा विपिन जोशी भन्ने नाम कन्ठ छ ।

खोजी भइरहेको हुँदा तत्कालीन राजदूत रिजालले विपिन जोशी फर्केर आउने विश्वास व्यक्त गर्नुहुन्छ । रिजाल भन्नुहुन्छ, ‘कतार, इजिप्ट, रसियनका राजदूतसँग विपिन जोशीको खोजीको लागि फोन गरिरहे । इजरायलले विभिन्न छलफल भइरहेको छन् । बन्धक भएकालाई फिर्ता गरेमा इजरायलले ठूलो राशीमा पुरस्कार दिने घोषणा गरिरहेको र बन्धक भएकालाई दु्रत गतिमा बाहिर निकाल्न प्रयत्न भइरहेको छ ।’

परराष्ट्रसँग छैन नयाँ जानकारी

तत्कालीन परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले इजरायलमा भएको घटनापछि नेपाल सरकारले तत्कालै खोजबिन गरेको बताउनुहुन्छ । उहाँका अनुसार, खोजबिन गर्दा इजरायल सरकारले विपिन जोशी जिवित भएको र गाजासम्म पुगेको बतायो । गाजासम्म बन्धक अवस्थामा त्यसपछि हमाससँग रिहाई बन्दी एक्सेन्ज कार्यक्रमा हामीले आग्रह गरेका थियौं । हमाससँग कतारको निटको सम्बन्ध रहेको भनिएको कतारका प्रधानमन्त्री र मन्त्रीसँग कुरा भएको थियो ।

अन्तराष्ट्रिय रेडक्रससँग विपिन जोशीको रिहाइका लागि अनुरोध गरेको तत्कालीन परराष्ट्रमन्त्री साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपूर्वमा वार्ता र छलफलका लागि कुरा गरेको र त्यस्तै अमेरिकी सरकारको राजनीतिक र कूटनीतिक पहल विपिनको रिहाईको लागि आग्रह गरिएको थियो । कूटनीतिक वृत्तबाट अनौपचारिक जानकारी अनुसार विपिन जोशी ७/८ महिनासम्म सुरक्षित भएको जानकारी पाएका थियौं ।’ उहाँ भन्नुहुन्छ, हाल सरकारले पनि प्रत्यत्न गरिरहेको होला भन्ने विश्वास लिएको छु ।

उता परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई विपिन जोशीका रिहाईका लागि कतारसँग पहल गरिरहेको बताउनुहुन्छ । जोशीको अवस्थाबारे नयाँ जानकारी नआएको प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘हमाससँग नेपालको सिँधा सम्पर्क छैन । यद्यपि नेपालले विपिन जोशीको अवस्था बुझ्न पहल गरिरहेको छ ।’