काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताउनुभयो । उहाँले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पार्नुभयो । उहाँले नागरिकलाई दिने सेवा छिचोलेर नभइ एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको बताउनुभयो । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक रहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्