काठमाडौं । नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरुले बताएका छन् ।
सोमबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रमबजारमा जटिल अवस्थामा पुगेको दाबी ट्रेड युनियनहरुले गरेका छन् । ट्रेड युनियनहरुले नेपाली श्रमबजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरु उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको बताउनुभयो । उहाँले नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष कुँवरले पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको बताउनु भयो । उहाँले श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत व्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताउनुभयो ।
अध्यक्ष कुँवरले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरुले नियन्त्रणमा लिँदा सरकारहरु नै ठूला रोजगारदाताहरुको चंगुलमा डुबेको उल्लेख गर्नुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको बताउनुभयो । उहाँले ट्रेड युनियन आन्दोलनबाट श्रमिकवर्गको हक हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धीहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भएमात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताउनुभयो । उहाँले मन्त्री परिवर्तन हुँदा सामाजिक सुरक्षा कोषका कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न नहुने ट्रेड युनियनको माग रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले ट्रेड युनियनहरुलाई इगनोर गरेर व्यवस्था परिवर्तन भए चल्न नदिने खालको आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्