सुनसरी । सुनसरी जिल्लासँग सिमाना जोडिएको धनकुटा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गर्न शुरु गरेको छ ।
धनकुटाको सागुरिगढी र शहीदभुमि गाउँपालिका तथा पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाइएको गाजा खेतीमा प्रहरी परिचालन गरि नष्ट गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले जानकारी दिनुभयो ।
एसपी चौधरीले हालसम्म २ सय ७६ रोपनी जग्गामा गरिएको २ लाख ६३ हजार ३ सय ३० वटा गाजाको बोट नष्ट गरिएको बताउनुभयो । जसमध्ये सागुरीगढीको ४३ रोपनी जग्गामा लगाइएको ६१ हजार ७ सय बोट गाजा नष्ट गरिएको छ ।
पाख्रीबासमा ८ रोपनी जग्गामा लगाएको एकहजार ८ सय ५० बोट र शहीदभूमिमा २ सय २५ रोपनी जग्गामा लगाएको एकलाख ९९ हजार ८ सय ३० बोट गाजा नष्ट गरिएको एसपी चौधरीको भनाइ छ । गाजा उत्पादन क्षेत्रमा गाजा फडानी गर्न २ सय ४७ जना प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले शहीदभूमि गाउँपालिकाको आँखीसल्ला, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदीबजार, गोलखाँडी लगायतका क्षेत्रमा गरिएका गाँजा खेती नष्ट गरिएको एसपी चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्