२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


बुटवल-नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री ओली


4.342k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल-नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार नारायणगढ-बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयको ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताउनुभएको हो ।

रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेटमा ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणपछि बोल्दै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म लाग्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु राम्रो नभएको बताउनुभयो । उहाँले ६ वर्षसम्म ५२ प्रतिशत काम बल्ल भएको बताउनुभयो । उहाँले सरकारले थप गरेको म्याद पनि एक वर्षमा सकिन लागेको भन्दै ५२ प्रतिशत काम ६ वर्षमा भयो भने अब ४८ प्रतिशत काम बाँकी एक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सडक ठेक्का पाएको कम्पनीले तिब्र रुपमा काम गर्ने हो भने काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले एडिबीले २०२६ मा दिने रकम क्लोजिङ हुने अवस्था रहेको बताउनुभयो । उहाँल उक्त सडक निर्माणको विषयमा सरकारले गम्भिर निर्णय गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ४४ प्रतिशत सरकारको तर्फबाट भुक्तानी भएको र ५६ प्रतिशत भुक्तानी बाँकी रहेको बताउनुभयो । उहाँले निर्माणको अहिलेको गतिमा काम अलपत्र छोड्ने हो भने सरकारले भुक्तानी दिन नसक्ने संकेत गर्नुभयो । उहाँले सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसक्ने भए ठेक्का तोड्नुको विकल्प नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले डिसेम्बरसम्म निर्माण ठेक्का कम्पनीले मागेको समय दिएर त्यसपछि निर्णायक ढङ्गले कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले विश्वनिय रुपमा कम्पनीले काम गर्ने भए काम गर्न केही समय दिने तर काम गर्न नसके ठेक्का तोडर नयाँ प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विदेशी कम्पनीहरुलाई टेण्डरमा सहभागि गराउनुपर्ने,ग्लोवल टेण्डर गर्नुपर्ने,विदेशी कम्पनीलाई आउन खुला हुने,हाम्रो नियमअनुसार जसले सस्तो गर्छ त्यसैलाई दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले विविध समस्याको मारमा सरकार रहेको बताउनुभयो । उहाँले आन्तरिक रुपमा ठेकेदारहरुले १५ वर्षअघि लिएका दुई वर्षमा सक्ने भनेका बाटा अहिलेसम्म एक कोदालो माटो कतै नचलेर पनि चलिरहेको स्थिति रहेको बताउनुभयो ।