काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताउनुभएको छ ।
मंगलबार वीरगञ्जमा पार्टीको तराई-मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरुले सँगै अघि बढाइरहेको बताउनुभयो । उहाँले अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताउनुभयो । उहाँले तराई÷मधेस उत्थानको महत्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको बताउनुभयो ।
अध्यक्ष थापाले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रीपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानविन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशेधन हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्