काठमाडौं । सूर्य देवको पूजा र उपासना गरी मनाइने छठ पर्वको आज शुक्रबार समापन गरिएको छ ।
नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए ।
काठमाडौंमा गौरीघाट, कमलपोखरी लगायतका पोखरी तथा तलाउ, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।
यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरीलगायतका पोखरीहरुमा व्रतालुहरुको घुइँचो लागेको थियो । यसैगरि तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरुमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन यो व्रत शुरु गरि सप्तमीको दिन समापन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्