Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


छठ पर्व : आज दोस्रो दिन ‘खरना’


0
Shares

महोत्तरी । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ ।

आज बिहान नुहाएर दिनभरि निराहार उपवास बसि राति सक्खरमा पकाएको खिर कूल देवता र छठी देवीलाई चढाएपछि व्रतालुले त्यो खिर खान्छन् । यो विधिलाई नै खरना भनिएको हो ।

निकै श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई ध्यान दिइने छठ पर्वको खरनाको दिन दिनभरि व्रत बसेर बेलुका चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामल राखेर पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यहरुले प्रसादको रुपमा खाने गर्छन् । दिनभरि उपवास गरेका व्रतालुले सूर्य अस्ताएपछि चन्द्रमाको दर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

भोलि छठ पर्वको तेस्रो दिन हो । भोलि कात्तिक शुक्ल षष्ठी तिथिका दिन सूर्य उपासना गर्दै निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा कम्मरसम्म डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन् भने सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्दछन् ।

छठ पर्वमा ढिकी–जाँतोमा कुटिएको (पिसेको) पिठोबाट प्रसादका रुपमा ठकुवा, भुसुवा तयार गरिन्छ ।