काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनु भएको छ । आज नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् भएको बताएका भएको हो ।
‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्ने बताउँदै हामीले यसमा गौरव गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रेमबहादुर महर्जनले विद्यालय तहको पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।
यस्तै बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन तिनै तहका सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्