२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : सभापति खान


338
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रुपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै सभापति खानले सुपारीको सहज रुपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

सभापति खानले उद्योग समितिले सुपारीको निर्यातका लागि सरकारलाई दिर्नेशन समेत दिइसकेको भन्दै कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अन्य बालिजस्तै सुपारी पनि कृषि उत्पादन भएको भन्दै यसको पनि निर्यात खोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्यात बन्द गरेर आयात मात्रै गर्ने हो भने देश समृद्ध हुन नसक्ने बताउनुभयो । सुपारी निर्यात रोकेर समस्याको समाधान हुन नसक्ने उहाँको भनाई छ ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकि सदस्य रेखा यादवले सुपारी खेतीलाई सरकारले महत्व नदिएको किसानहरुको गुनासो रहेको बताउनुभयो । उहाँले पनि सुपारी निर्यातको सम्बन्धमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकि सदस्य सीता मिजारले उद्योग समितिले सुपारीको डिएनए परिक्षण गरेर भएपनि निर्यात गर्नु भनेर निर्देशन दिइसकेको भन्दै डिएनए गर्ने अवस्था छ, छैन भन्नेमा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको छुट्टाछुट्टै निर्देशनका कारण सरकारलाई कार्यान्वयनमा गाह्रो परेको भन्दै आवश्यक पर्दा संयुक्त रुपमा एउटै निर्देशन दिनुपर्ने बताउनुभयो ।

सभापति खानले सुपारी निर्यात सम्बन्धि विवाद लामो समयदेखि कायम रहेको भन्दै यसप्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।