३० असार २०८२, सोमबार | Tue Jul 15 2025


पौराणीक कालमा ख्याःकलाई धनसँग सम्बन्धीत मानिन्थ्यो


117
Shares

काठमाडौं । विगतमा नेपाल मण्डलभित्र ख्याःचा अर्थात ख्याःक लोकजीवनको अभिन्न अगं थियो । तर अहिले यो विस्मृतिको पानामा मात्र सिमित भएको छ । तर लक्ष्मी पूजाको दिन ख्याः भएको लक्ष्मी चित्रमा पूजा गरेर धनधान्यको कामना गर्नेै प्रचलन यद्यपी कायम नै रहेको छ ।

ख्याःचा भन्ने वितिकै अहिले पनि रोमाञ्चित र डर कायम नै रहेको छ । जिज्ञासाले मानसपटलमा ख्याः धुमिरहेको हुन्छ । विभिन्न ख्याः हरु मध्ये सेतो ख्याकले मानिसलाई रोमाञ्चित र राम्रो भाग्य सहित धनकमाउन बाटो खुल्ने भन्ने विश्वास गरिन्छ । सेतो ख्याक भएको घरमा धनधान्य र समृद्धि हुने विश्वास कायम नै छ ।

त्यसैले अहिले पनि लक्ष्मी पूजाको दिन ख्याकहरु भएको मौलिक लक्ष्मी चित्रमा पूजा गर्ने परम्परा रहेको छ । जसमा धन कुवेर जम्भल समेत रहेको हुन्छ । त्यति मात्र होइन औंलामा आगो सल्काएर हिँडने मिप्वाः ख्याः, जीउभरी भुत्लै भुत्ला भएको धाप्लां ख्याः, कतै जाँदा खुटटामा गुल्टिन आउने भकुंग्वारा ख्याः, बाटोमा हिँडदा हिँडेदै छोपिन आउन लँपं ख्याः, वालिकालाई गुफा राख्दा पूजा गर्ने बाह ख्याः र खेतमा किसानको बालि बचाउने बुंख्याःचा आदी रहेको छ ।

समग्रमा भन्नु पर्दा ख्याःचा सकारात्मक र नकारात्मक दुई प्रकारका छन् । यक्षयक्षणी सहित ख्याकहरुले धनसम्पति बटुलेर ल्याउने धार्मिक तथा सास्कृतिक मान्यता र विश्वास रहेको छ । त्यसैले नेपालमण्डलमा ख्याकहरुलाई पनि धन प्राप्तिका लागि पुज्ने प्रचलन रहेको छ । सकारात्मक रुपमा धनसम्पति, सुख र संमृद्धिको प्रतिक उच्छुष्मजम्भल र बसुधारा सहितको विभिन्न ख्याःचाहरुको कला पूर्ण म्युजियम अफ नेवाः आर्टमा प्रदर्शनका लागि राखिएको छ ।

प्रदर्शनले विस्मृतिको पानामा सिमित भएको ख्याःचालाई जिवन्त तुल्याएको छ । चित्रण कलाकार सृजा श्रेष्ठ, बाल्यकाल देखि नै ख्याःचाले रोमाञ्चित बनाएको अनुभूति सुनाउदै यस्ता आख्यानहरुलाई चित्रण कला मार्फत प्रस्तुत गर्न सकिने बताउनुहुन्छ । विगतमा ख्याः सँग जोडीएको विभिन्न आख्यानहरु र जम्का भेट भएको धेरै सुनिन्थे तर समय क्रम सँगै लोकजीवनको अभिन्न अंग ख्याःचा श्रुति र स्मृतिको पानामा मात्र सिमित भएको छ । त्यसैले यस्ता आख्यानहरुलाई कला मार्फत उजागर गर्न सकिए हाम्रा लोक श्रुति र परम्परालाई युवामाझ लोकप्रिय पनि बनाउन सकिन्छ ।