कठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
बाढीपहिरोबाट २ सय ३९ जनाको मृत्यु भएको, १९ जना बेपत्ता भएको र १७७ जना घाइते भएको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९ सय १० जनालाई भने हेलिकप्टरबाट उद्धार गरिएको हो ।
बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग दशैंअघि सञ्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।
यसैगरी पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा पहिरोले क्षति पुर्याएको छ । यातायातका साधन सहज रुपमा सञ्चालन गर्ने कार्य भइरहेको जनाइएको छ ।
बाढीपहिरोमा परी ४ हजार ६ सय ६७ घरहरु पूर्णरुपमा क्षति भएको छ भने ५ हजार ३ सय १० घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै १६ हजार २ सय ४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८ सय ७ जना विस्थापित भएका छन् ।
यसैगरि बाढीपहिराले ११ वटा जलविद्युत आयोजना, ६ वटा सिँचाइ आयोजना, १० वटा राजमार्ग, ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । साथै ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्