काठमाडौं । गत शुक्रबार बिहानदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा देशका २५ स्थानमा वर्षाको नयाँ रेर्कड बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अर्घाखाँचीको सन्धिखर्कदेखि ललितपुरको टीकाथलीसम्म वर्षाले अहिलेसम्मको रेकर्ड तोडेको हो ।
असोज १२ गते बिहान ८ः४५ बजे मापन गरिएको तथ्यांक अनुसार १४ जिल्लाका २५ वटा केन्द्रमा अहिलेसम्मकै रेकर्ड तोडिएको हो । काठमाडौंको पानीपोखरीमा शुक्रबारदेखि शनिबार बीचको २४ घन्टामा २०६ दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि २०२८ साल जेठ ३१ गते यहाँ १९८ मिलिमिटर वर्षा भएको थियो ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लमा २३९ दहमलव ७ मिलिमिटर पानी परेको थियो । यसअघि २०५९ साउन ७ गते विमानस्थलमा १७७ मिलिमिटर वर्षा भएको थियो ।
यसैगरी काठमाडौंको बूढानीलकण्ठमा १७८ दशमलव ३ मिलिमिटर वर्षा भयो भने काठमाडौकै जितपुरफेदीमा १७८ दशमलव ३ र नागार्जुनमा २०५ दशमलव ४ मिलिमिटर वर्षा भयो ।
उता, सिन्धुपाल्चोकको बाहुनेपाटीमा पनि रेकर्ड ब्रेक वर्षा भयो । त्यहाँ १९० दशमलव ६ मिलिमिटर पानी परेको थियो । यसैगरी तनहुँको खैरनीटारमा पनि अहिलेसम्मकै धेरै २५२ दशमलव ३ मिलिमिटर वर्षा भयो ।
ललितपुरको चापागाउँमा पनि अहिलेसम्मकै धेरै ३२३ दशमलव ५ मिलिमिटर वर्षा भयो भने मकवानपुरको दामनमा ४१० मिलिमिटर वर्षा भयो । नुवाकोटको ककनीमा १६९ दशमलव २ मिलिमिटर वर्षा भएको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्