Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


केही नदीहरूमा बाढीको उच्च जोखिम : सतर्क रहन अपिल


1.6k
Shares

काठमाडौँ । आइतबारसम्म देशका केही नदीहरूमा बाढीको जोखिम बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । नदीहरूमा बाढीको जोखिम बढ्ने भएकाले सतर्क रहन अपिल समेत गरेको छ ।

आगामी तीन दिन मौसम बदली भइ ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी र त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह नजिक र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने प्रणाली कमजोर हुने जनाइएको छ ।