२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


पाकिस्तानमा आतंकवादी हमला, २२ जनाको हत्या


390
Shares

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक हतियारधारी समुहले २२ जनाको हत्या गरेको छ ।

बलोचिस्तान प्रान्तको एक राजमार्गमा हतियारधारी समुहले गुडिरहेका सवारीसाधन चेकजाँच गर्ने बहानामा उनीहरुलाई सवारीसाधानबाट बाहिर निकाली गोली हानी हत्या गर्नुका साथै दर्जर्नौ सवारीसाधनमा आगजनी गरेका छन् ।

पञ्जाबबाट आउँदै गरेका तथा पञ्जाबतर्फ जाँदै गरेका नागकिलाई छानी छानी गोली हानी हत्या गरिएको हो । आक्रमणको जिम्मेवारी आतंकबादी समुह बलुच लिबरेशन आर्मी (बी.एल.ए) ले लिएको छ । आक्रमण गर्नुअघि उनीहरुले बलोचिस्तानका स्थानीयलाई राजमार्गबाट ​​टाढा रहन चेतावनी जारी गरेका थिए ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले यो हमलाबाट आफु मर्माहत भएको भन्दै आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा व्यक्त गर्नुभएको छ ।

बीएलए समुहले पाकिस्तानमा रहेका पञ्जाबीहरुलाई निशाना बनाउन थालेका छन् । पञ्जाबीहरुले पाकिस्तानमा शोषण गरेको आरोप लगाउँदै उनीहरुले विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन् ।

यस वर्षको अप्रिलमा पनि बलुचिस्तानमा ९ जना यात्रुहरूलाई बसबाट निकाली गोली हानी हत्या गरिएको थियो । बेलायत र अमेरिकालगायत धेरै पश्चिमी देशहरूले बी.एल.ए.लाई विश्वव्यापी आतंकवादी संगठन घोषणा गरिसकेको छ ।