काठमाडौं । बंगलादेशमा आन्दोलनकारीहरुको माग अनुसारकै अन्तरिम सरकार गठन भईसक्दा पनि त्यहाँ शान्ति पुनर्वहाली हुने संभावना क्षीण देखिएको छ ।
आन्दोलनकारी विद्यार्थी संगठनहरुको माग अनुसार अन्तरीम सरकार गठन गरिए पनि आन्दोलन मत्थर हुने छाँट देखिएको छैन भने आन्दोलन नियन्त्रण कसले गर्ने भन्ने प्रश्न उठेको छ । आरक्षण कोटा बिरोधी पहिलो चरणको आन्दोलनलाई सामान्य ठानी दमन गर्न खोज्दाको परिणामले दोश्रो चरणको आन्दोलन निम्तियो ।
जुन आन्दोलनले यस्तो रुप लियो कि दशकौंदेखि सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन समेत भयो । बिद्यार्थी संगठनको शक्ति प्रदर्शनकाबीच आन्दोलनमा घुसेका अन्य समुदायका कारण प्रधानमन्त्रीको बहिर्गमन पछि पनि सेना मुकदर्शक बन्दा शान्ति पुनर्वहाली कसरी हुन्छ भन्ने यसै भन्न सकिने अवस्था छैन । जताततै तोडफोड र आगजनी मात्र भएको छैन, शेख हसिनाको शासनकालमा हिन्दूहरुमाथि अत्याचार गर्न नपाएका अतिवादी मुश्लिमहरुले हसिनाको बहिर्गमनलगत्तै अल्पसंख्यक हिन्दुहरुमाथि प्रतिशोध साँधेका छन् ।
हिन्दु मन्दिरहरु र हिन्दुहरुका घर छानीछानी आगजनी गर्दा समेत नियन्त्रण गर्ने मुकदर्शक बनेका छन् । हिन्दू समुदाय यति त्रसित छन् कि कतिबेला आपूmहरु आन्दोलनकारीको निशानामा परिने हो भन्ने अवस्था छ । व्यापारिक प्रतिष्ठान र बैंक समेत लुटपाट हँदा सुृरक्षा निकाय हात बाँधेर बसेका छन् । यहाँ सम्मकी प्रहरीमाथि आन्दोलनकारीहरुले जथाभावी आक्रमण गरेपछी उनीहरु नै हडतालमा उत्रनु परेको घटनाले पनि बंगलादेशको स्थिती उजागर गर्छ ।
प्रहरीले नै हडताल आह्वान गरेपछि सो हडताललाई अवैध घोषणा गरिएको छ भने प्रहरी हडतालको सामना गर्न अर्धसैनिक बल उतारिएको छ । शेख हसिनाको पार्टी अवामी लिगका कार्यकर्ता होस वा समर्थक उनीहरुमाथि भौतिक आक्रमण र सम्पत्ती नष्ट गर्ने होड नै चलेको छ । जताततै आगजनी अनि तोडफोडले बंगलादेश रणभुमीमा परिणत हुँदा त्यहाँका बासिन्दा शरण लिन छिमेकी मुलुक जाने सम्भावना पनि बढ्दै गएको छ ।
बंगलादेशको बिग्रिंदो अवस्थालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले पनि शान्ति र धैर्य धारणका लागि आग्रह गरेको छ भने भारतले बिशेष बिमान पठाएर बंगलादेशमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको छ । मानवअधिकार र ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि निहत्था नागरिकमाथि ज्यादती नर्गन अपील गरेका छन् । बंगलादेशको यस्तो अवस्थाले बयोवृद्ध अभियन्ता मोहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले स्थितिलाई कत्तिको सम्हाल्न सक्छ भन्ने आशंका पनि गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्