काठमाडौं । आज भोटो जात्रा । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आज भोटो देखाइने भएको छ ।
भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ ।
आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
साथै ललितपुरकी जीवित देवी कुमारी र ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा पुर्याइने गरिन्छ ।
मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुन्छ । भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्