ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकारले उर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
संखुवासभा–काठमाडौं जर्नालिस्ट एशोसिएसनले नवनियुक्त मन्त्री खड्कालाई शुभकामना दिन शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले उर्जा क्षेत्रको बिकासबाटै मुलुक समृद्ध हुने बताउनुभयो । उहाँले उर्जालाई स्थानीय जनतासंग प्रत्यक्ष जोड्न सके आर्थिक रुपमा सम्पन्न गर्न सकीनेमा जोड दिनुभयो ।
संखुवासभामा बन्न लागेको अपर अरुण आयोजना स्थानीय जनताको हितमा हुने गरी अगाडि बढाइने प्रतिबद्धता उहाँको थियो । उहाँले जिल्लाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैया बराबरको शेयर दिनेमा आफ्नो प्रतिबद्धता रहेको पनि दोहो¥याउनुभयो ।
आफू मुलुकै उर्जामन्त्रीको जिम्मेवारीमा रहेको भए पनि संखुवासभावासी भएको नाताले जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने उहाँको भनाई थियो । उहाँले अब आफू जिम्मेवारी बोध गर्ने ठाउँमा पुगेको भन्दै सबैको सहयोग आफूलाई आवश्यक रहेको पनि बताउनुभयो । संखुवासभामा हरेक बिषयमा विज्ञता रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै मुख्य भूमिकामा रहेका व्यक्तित्व भएकाले उहाँले आफू सबै क्षेत्रको सहयोग लिएरै अगाडी बढ्ने पनि बताउनुभयो ।
पूर्व सचिव शारदाप्रसाद त्रितालले सुशासन र भ्रष्टाचारबाट मुलुकलाई मुक्त गर्न सके मुलकमा आर्थिक समृद्धि आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवनियुक्त मन्त्रीहरुलाई अहिले शुभकामना दिने र राम्रो काम गरेपछि मात्र बधाई दिने भन्दै सुसाशनमा जोड दिन मन्त्री खड्कासँग आग्रह गर्नुभयो ।
संखुवासभा–काठमाडौं जर्नालिस्ट एशोसिएसनका अध्यक्ष शंकर खनालले संखुवासभाको उर्जा र पर्यटन क्षेत्रको बिकासकालागि ध्यान दिन मन्त्रीसंग आग्रह गर्नुभएको थियो । जिल्लामा हुन लागेको संखुवासभा विश्व सम्मेलनको तयारीको बारेमा पनि उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उर्जा सचिव दिनेश घिमिरे, अमेरिकाकालागि पूर्व राजदूत तथा कुटनितिज्ञ डा. अर्जुन कार्की, विकासविद् डा. हिरामणी घिमिरे, राष्ट्रिय वाणिज्य वैकका पूव कार्यकारी अधिकृत किरण श्रेष्ठ, खँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी शेर्पा, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रख्यात कीर्तिमानी आरोहि मिङ्मा शेर्पा, नविन त्रिताल, कानुन व्यवसायी भविश्वर गुरुङ, उद्योगि, बुद्धिजीवि, पर्यटन व्यवसायी, कलाकार, सञ्चारकर्मीलगायत संखुवासभावासीको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमको आयोजना संखुवासभा–काठमाडौं जर्नालिस्ट एशोसिएसनले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्