१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


बधाई थाप्नमै व्यस्त मन्त्रीहरु


1.924k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । देशका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारको आज दोस्रो दिन । सामान्यतः पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको कार्यदिन सुरु भएको मानिन्छ । सिंहदरबारका विभिन्न मन्त्रालयमा पुग्दा मन्त्रीहरु बधाई थाप्नमै व्यस्त रहेको पाइयो ।

नयाँ मन्त्रीमण्डल गठनपछिको दोश्रो दिन हाम्रो टोली सिंहदरबार पुग्दा अधिकांश मन्त्री बधाई लिनमै व्यस्त रहेको पाइयो । मन्त्रीलाइ बधाई दिन पुगेका आफन्तजन र कार्यकर्ताले मन्त्रीहरुलाई भेट्नकै लागि घण्टौं कुर्नु परेको पनि देखियो । हातमा खादा र फुलका गुच्छा सहित मन्त्रीलाई भेट्न पुग्ने ठूलो भीड सञ्चार मन्त्रालयमा रहेको पाइयो । संचारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्नका लागि चलचित्रकर्मीदेखि एमाले कार्यकर्तासम्मको घुइँचो नै लागेको थियो । सोही क्रममा मन्त्री गुरुङले देशमा मौलाएको भ्रष्टाचार निर्मुल पार्न काँगे्रस र एमाले गठबन्धन भएको भन्दै मन्त्रालय मन्त्रालयबीच हुने असमझदारीलाई चिर्ने आफनो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

त्यसो त बधाई सँगसँगै मन्त्रालयगत छलफलमा व्यस्त हुने मन्त्रीहरु पनि भेटिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री पाण्डेले भने आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पराराष्ट्र मन्त्रालयको चहलपहल भने बेग्लै थियो । नवनियुक्त मन्त्री आरजु राणा देउवाको कार्यकक्षमा पुग्दा नेम प्लेटमा व्यस्त लेखेको देखियो तर आरजुलाई बधाई दिन जानेहरु भने खासै देखिएनन् । गृहमन्त्री रमेश लेखकलाई बधाई दिन पुगेकाहरु भने मन्त्रीले समय नदिएपछि अलमलमा परेका पाइयो ।

यस्तै, महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह सुडीले आफनो कार्यकालको पहिलो प्राथमिकता भने हरेक क्षेत्रमा महिलाको पहँच पुर्याउने र सडक बालबालिका मुक्त गर्ने रहेको बताउनुभयो । त्यसो त नयाँ मन्त्रीमण्डल गठन भएपछि मन्त्रीहरुलाई बधाई दिन पुगेकाहरु भने नयाँ गठबन्धन सरकारले जनताको हितका लागि काम गर्ने विश्वास व्यक्त गर्दछन् ।

देशमा छिनछिनमा फेरिने सरकारको नेतृत्व जोसुकैले गरुन् वा जोसुकै मन्त्री बनून् आफनो स्वार्थसिद्धिका लागि घेरा हाल्ने भीड सधैं भईरहन्छ । सिंहदरबारभित्र पहुँच नपुग्ने र वा सिंहदरबारसँग सरोकार नै नभएका भुईमान्छेहरुका लागि नीति बनाउने र काम गर्नेतर्फ सरकारमा बस्नेहरुको ध्यान गईदिए फरक महसुश हुने थियो कि !