२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


राणाहरूले शौखका लागि बनाएको दरबारलाई सडक विभागले बिजोक बनायो (तस्बिरहरु)


1.027k
Shares

शुरज थपलिया

काठमाडौं । देशभरका सडकलाई चिटिक्क पार्ने जिम्मा पाएको सडक विभाग आफैं भने बिरामी अवस्थामा छ । धेरै प्राविधिकहरू रहने यो विभागमा सामानहरू कहाँ के र कसरी राख्ने भन्ने समेत थाहा नहुँदा नाजुक अवस्थामा रहेको हो ।

२०८१ वैशाखमा पुर्ननिर्माण सकिएर जिम्मा लिएको विभागका ढोकाहरु फुटेका छन् । भिताहरु टुटेका छन् । सामानहरू जताततै असरल्ल छरिएका छन् ।

विभागको शौचालय सार्वजनिक शौचालय भन्दा कम छैन । छिर्नै नसक्ने अवस्थामा दुर्गन्धित छ । पानी पास हुने ठाउँहरू चुरोटको ठुटा, पानीको बोतल, प्लाष्टिक र फोहोरले जेलिएको छ ।

विभाग भित्रै चुरोटका ठुटा र गाजाका धुलो भेटिन्छन् । अफिसभित्रै चुरोटका बट्टाहरू फालिएका छन् । सरकारी कागजपत्रहरू जताततै छरिएका छन् । पानीले भिज्ने र मुसाले काट्ने डर छ । ती सुरक्षित छैनन् ।

महालेखा परीक्षक, हुलाक र निर्वाचन कार्यालय त्यहाँ बस्छ भनेर अन्य कार्यालयको बोर्ड फालेर हतार हतार निर्माण सम्पन्न अघि सरेको विभागको अधिकांश कोठाहरू खाली छन् । ताला लगाएर राखिएको छ ।

कार्यालयभित्र प्यासेज, बाटो, भित्ता तथा भुइँहरु धुलोले ढाकिएका छन् । जता छाम्दा पनि धुलो मात्रै टाँसिन्छ । लाग्छ त्यहाँ महिनौदेखि कुचो लगाइएको छैन । प्यासेजमा हिँड्दा गन्हाउँछ । गार्डेनहरुमा रहेका कुर्सीहरु ढलेका छन् । गार्डेन झार र पतकरले फोहोर छ ।

विभाग रहेको बबरमहल राणाकालीन दरबार हो । युरोपेली शैलीमा चन्द्रशमशेरले यो भवन आफ्ना छोरा बबर शमशेरका लागि निर्माण गरेका थिए ।