
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।
लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा वकालत गर्न लाग्दा बाँसको कलमले लेख्ने र सबै सार्नुपर्ने अवस्था रहेको र त्यो बेलामा पनि शारदा श्रेष्ठसहितका न्यायाधीशहरुले महिलाहरुको हक हितका लागि काम गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले काठमाडौंमा जन्मिएका र न्याय क्षेत्रको पैरवी गर्नेहरु काठमाडौं छोड्न राजी नहुने समयमा श्रेष्ठले काठमाडौं बाहिर जाने आँटले नै स्थापित व्यक्तित्व बनाएको बताउनुभयो । उहाँले श्रेष्ठको जीवन सादगी र मायालु रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अहिले महिलाहरुले पहिलाको भन्दै धेरै अधिकार पाएको बताउनुभयो । उहाँले महिलाहरुले आफ्ना हक अधिकार पाउन शारदा श्रेष्ठ लगायतका पूर्वन्यायाधीशहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले आयोगले पनि महिलाको हक अधिकार प्राप्त गर्न र दिन विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभयो ।
नेपालका प्रथम महिला न्यायाधीश एवं पुस्तकका लेखक शारदा श्रेष्ठले पुस्तक केही समयअघि नै लेखिसकिएको भएपनि केही कारणवश ढिला गरी विमोचन भएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठबाट पुस्तक विमोचन हुनु अत्यन्तै सुखद् र खुशीयाली भएको बताउनुभयो ।
उहाँले पुस्तकले न्याय क्षेत्रमा लाग्ने न्यायकर्मीहरुका लागि दिशा निर्देश गर्ने अपेक्षा राखेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्