११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

बुधबार आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभइएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताउनुभयो । उहाँले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताउनुभयो । उहाँले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताउनुभयो । उहाँले अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर १६ औं योजना बनेको बताउनुभयो । उहाँले विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दाबी गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको बताउनुभयो । उहाँले १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने पनि बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा सुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन गरिएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताउनुभयो । उहाँल मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको बताउनुभयो ।