११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान जारी


572
Shares

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सीटका लागि मतदान भइरहेको हो ।

चौथो चरणमा आन्ध्र प्रदेशका १७५ वटा विधानसभा सिट र उडिसाका २८ विधानसभा सिटका लागि पनि मतदान भइरहेको छ । आजको मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायतका एक हजार ७१७ उमेदवार चुनावी मैदानमा छन् ।

यस चरणमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन् भने १७ करोड ७० लाख मतदाता मत खसाल्न योग्य छन् । आज आन्द्र प्रदेशको २५ सीट, तेलंगानाको १७, उत्तर प्रदेशको १३, महाराष्ट्रको ११, पश्चिम बंगाल र मध्य प्रदेशको आठ–आठ, बिहारका पाँच, झारखंड र ओडिसाका चार–चार र जम्मु कश्मिरमा एक सीटका लागि पनि मतदान भइरहेको छ ।

भारतमा लोकसभाका ५ सय ४३ सिटका लागि विभिन्न सात चरणमा मतदान भइरहेको छ । अहिलेसम्म तीन चरणमा गरि २ सय ८५ क्षेत्रमा मतदान भइसकेको छ । अब २० मे मा हुने पाँचौ चरणमा ४९ सिट, २५ मे मा हुने छैटौं चरणमा ५७ सिट तथा १ जुनमा हुने सातौं चरणमा ५७ सिटका लागि मतदान हुन बाँकी छ ।