२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


‘ठमेल र दरबारमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ’


117
Shares

काठमाडौं । नयाँ वर्षको शुरुवातदेखि २४ सै घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो । उहाँले जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति रहेपनि अब सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसाय सञ्चालनका लागि पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेको बताउनुभयो । उहाँले आचारसंहितामा व्यवसायीहरुको पालना गर्नुपर्ने आचारसंहीता, उपभोक्ताहरुले पालना गर्नुपर्ने आचारसंहिता, त्यहाँ कार्यरत श्रमीकहरुले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाहरुको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्वन गर्नुपर्ने विधि, प्रक्रियाहरु उल्लेख गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित बनाइने बताउनुभयो । उहाँले ठमेल क्षेत्रभित्र व्यवसायिक मात्रै नभइ स्थानीयहरुको बसोवास रहेको क्षेत्र पनि भएकाले स्थानीय बासिन्दाहरुको अवसरलाई समेत असर नपर्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो । रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने साउण्ड पोलुसनलाई व्यवस्थित गर्ने, पूर्ण साउण्ड पोलुसन हुन नदिने गरी व्यवस्था मिलाउने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै लाइभ म्युजिक सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गर्नेकुरा आचारसंहीतामा राखेको बताउनुभयो । उहाँले स्थानीहरुले ध्वनी प्रदुषणको कुरा उठाएको भन्दै क्षेत्र सो भित्रको भगवान बहालमा स्थानीयको बढी बसोवास भएकाले उक्त क्षेत्रलाई रात्रीकालीन पूर्ण रुपमा सञ्चालन गर्ने क्षेत्रबाट टाढा राख्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय खुला रहेको ठाउँमा प्रयोग गर्नका लागि अहिले प्रयोगमा रहेको शौचालयलाई निश्चित संकेत दिएर सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनुभयो । रात्रीकालीन समयमा यातायातको साधनहरु अभाव हुने र बजारबाट फर्किन्का लागि समस्या हुनेकुरालाई मध्यनजर गरी नगरबस, ट्याक्सी, अनलाइन सवारी साधन सञ्चालन गर्ने विषयमा गम्भीर भएर व्यवस्थापनमा लागेको बतउनुभयो । पार्किङको व्यवस्थापन पनि उचित ढंगले गर्ने बताउनुभयो । दरबार मार्ग र ठमेलमा रात्रीकालीन व्यवसाय गर्ने व्यवसायीहरुले आन्तरिक सुरक्षा सेक्युरिटी कम्पनीहरुबाट तालिम प्राप्त व्यक्ति राख्नुपर्ने बताउनुभयो ।