४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न


234
Shares

काठमाडौं । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न गरेको छ ।

अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ । त्यसैअनुरुप संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको हो ।

नौ बाजाको सिधा अर्थ ९ किसिमका मौलिक बाजका प्रकार र सोही बाज समुहमा सहायक बाजा सम्मलित गराइने हुन्छ । विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा संरक्षित छ । बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ ।

श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप जुइगु तरखरमा छ । त्यसैले, संघले पहिलो पल्ट नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो ।

झण्डै हराउनै लागेको नौ बाजाका कलाकारहरुको संख्या हेर्ने हो भने दुई हातमा रहेका औंलामा सिमित भइसकेको छ । यसको अर्थ सिमित कलाकारहरुले मात्र नौ बाजा बजाउन जानेका छन् ।

संघअन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा मानन्धर युवा समुहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए ।